डोटी।
सुदूरपश्चिममै पहिलो पटक ३२ किलोमिटर लामो खप्तड-शैलेश्वरी म्याराथन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भए पछि खप्तड भिडियो डकुमेन्ट्री प्रतियोगिता हुने भएको छ।
खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले प्रतियोगिताका लागि भिडियो डकुमेन्ट्री पठाउन सूचना सार्वजनिक गरेको छ। असार ८ गते भित्र ईमेल मार्फत समितिको कार्यालयलाई भिडियो डकुमेण्ट्री पठाई सक्नु पर्ने सूचनामा उल्लेख छ।
भिडियो डकुमेण्ट्रीमा खप्तड क्षेत्रको सौन्दर्य, प्राकृतिक तथा जैविक विविधता, ऐतिहासिकता, साँस्कृतिक तथा धार्मिक महत्व झल्किने हुनु पर्ने समितिको कार्यालयले जनाएको छ। अंग्रेजी वा नेपाली भाषामा तयार गरिएको भिडियो डकुमेण्ट्री बढीमा ७ मिनेटको हुनु पर्ने बताईएको छ।
उत्कृष्ट एक भिडियो डकुमेण्ट्रीलाई ६० हजार रुपैयाँ नगद पुरस्कार दिइने समितिका कार्यकारी निर्देशक भीम बहादुर खड्काले जानकारी दिए। ‘खप्तड क्षेत्रको वारेमा जानकारी दिने र प्रचार प्रसारमा सहयोग पुग्ने उद्देश्यका साथ हामीले यो प्रतियोगिता आयोजना गरेका हौं’ खड्काले भने, ‘यसले पर्यटकीय प्रचार प्रसारमा सहयोग पुग्ने विश्वास छ।’
भिडियो डकुमेण्ट्री प्रतियोगितासंगै फोटो प्रतियोगिता, निवन्ध र कविता प्रतियोगिता समेत आयोजना गरिने खड्काले बताए। ‘निबन्ध, कविता र फोटो पनि इमेलबाटै पठाउन सूचना गरिएको छ’ खड्काले भने ‘खप्तडको सौन्दर्य, प्राकृतिक तथा जैविक बिविधता, ऐतिहासिक, सांस्कृतिक, धार्मिक महत्व झल्किने निवन्ध र कविता अंग्रेजी वा नेपाली भाषामा हुने पर्नेछ।’ खप्तड क्षेत्रको फोटो उच्च गुणस्तरको हुनुपर्ने उनले बताए।
खड्काका अनुसार निबन्ध र कविता प्रतियोगितामा पहिलो हुनेलाई जनही २० हजार रुपैयाँ र दोस्रो हुनेलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
यस्तै फोटो प्रतियोगितामा पहिलो हुनेलाई १५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ। दोस्रो हुने फोटोलाई १२ हजार, तेस्रोलाई १० हजार, चौथोलाई आठ हजार र पाँचौंलाई पाँच हजार रुपैयाँ नगद पुरस्कार दिने व्यवस्था गरिएको कार्यकारी निर्देशक खड्काले बताए।