साँफेबगर ।
दुई दिने अपांगताको पहिचान, परिचय पत्र वितरण तथा निःशुल्क औषधि उपचार शिविर सम्पन्न भएको छ। अछामको साँफेबगर नगरपालिकाको आयोजना र आस्था नेपाल वल्र्ड भिजन इन्टरनेसनल नेपाल तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा अछामको आर्थिक तथा प्राविधिक सहयोगमा दुई दिने अपांगताको पहिचान, परिचय पत्र वितरण तथा निःशुल्क औषधि उपचार शिविर सम्पन्न भएको हो। विहीबार र शुक्रबारदुई दिनसम्म चलेको उक्त शिविरमा जम्मा २ सय ३९ जनाले सेवा लिएका छन्।
जसमा १ सय ९ जना पुरुष र १ सय ३० जना महिला रहेका छन्। ती मध्ये क वर्गको अपांगता परिचय पत्र पाउने १३ जना, ख वर्गको अपांगता परिचय पत्र पाउने १६ जना, ग वर्गको अपांगता परिचय पत्र पाउने ११ जना र घ वर्गको अपांगता परिचय पत्र पाउने ६ जना रहेका छन्।
शिविर समापन कार्यक्रममा प्रमुख अतिथिको आसन ग्रहणबाट बोल्दै साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले यो शिविर संचालनका लागि आर्थिक तथा प्राविधिक सपोर्ट गर्ने दुईवटै साझेदार संस्थालाई धन्यवाद ज्ञापन गर्नु भएको छ। उहाँले आगामी दिनमा अति जोखिममा रहेका अपांगता भएका व्यक्तिहरूलाई सीपमूलक तथा आयआर्जनसंग सम्बन्धित कार्यक्रममा जोड्न स्थानीय सरकार पनि साझेदारी गर्न प्रतिवद्ध रहेको बताउनु भएको छ।
बिहीबार शिविर उद्घाटन कार्यक्रम साँफेबगर नगरपालिकाका नगर उपप्रमुख शिव बहादुर कुवरको अध्यक्षतामा भएको थियो। कार्यक्रममा साफेबगर नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, नेपाल रेड्क्रस सोसाइटी अछमका सभापति रत्न प्रसाद ढुंगाना, संचारकर्मी लगाएत सरोकारवालाहरुको उपस्थिति रहेको थियो।
शिविरको उद्देश्य तथा महत्वको बारेमा आस्था नेपालका भ्वान सिंह सार्कीले गर्नु भएको थियो। कार्यक्रमको संचालन साँफेबगर नगरपालिका कानुन तथा न्याय शाखाका नृप विश्वकर्माले गर्नु भएको थियो।