साँफेबगर ।
वैद्यनाथ बोलबम पदयात्रा सहित जलार्पण कार्यक्रम वैद्यनाथधाममा हुने भएको छ । वैद्यनाथधाम पर्यटन विकास तथा व्यवस्थापन समिति, वैद्यनाथक्षेत्र विकास संस्था र मदन बाबा भक्ति केन्द्र जिल्ला समिति अछामको आयोजनामा साउन ७ गते पहिलो सोमबार वैजनाथधाममा कार्यक्रम हुने भएको हो ।
बोलबम कार्यक्रममा मदन बाबा भक्ति केन्द्रका सम्पूर्ण भक्तजन, वैद्यनाथधाम पर्यटन विकास तथा व्यवस्थापन समिति, वैद्यनाथ वेद विद्याश्रम, वैद्यनाथक्षेत्र विकास संस्था र स्थानीय भक्तजनहरुको सहभागीता रहने भक्ति केन्द्रका जिल्ला अध्यक्ष भरत बहादुर खड्काले जानकारी दिनु भयो ।
भक्तजनहरुले साउन ७ गते विहानै वैद्यनाथधामबाट पदयात्रा सुरु गरी बुढीगंगा नदीको त्रिवेणीस्थल कालभैरव मन्दिरमा जल स्नान गरी सुर्यलाई अर्घ दिई सिङ्गारिएका कलसमा जल भरी बोलबमको ध्वनिसंगै पदयात्रामा सहभागी भई वैद्यनाथ मन्दिरका १०८ शिव लिंगहरुमा जलार्पण गरि दिनभर भजनकृतन गरिने आयोजक समितिले जनाएको छ।
श्री वैद्यनाथ वेदविद्याश्रमका सह–प्राचार्य गुरु केशव राज जोशी ११ वर्षदेखि निरन्तर चलेको बोलबम जलयात्रा कार्यक्रम विगत तिन वर्षयता श्री मदन बाबा भक्ति केन्द्रको सहकार्यमा वैद्यनाथ धाममा हुदै आएको र यो बोलबम कार्यक्रम ले बोलबम शिव साधकका लागि शक्ति जागृत गर्ने पर्व भएको जानकारी दिनु भयो।
बोलबममा साकार र निराकारका रूपमा शिवको आराधना गरिने भएकोले बोलबम कार्यक्रममा सहभागी भई पछिल्लो समयमा सुस्ताएको पर्यटन, धार्मिक गतिविधिलाई बढाउने हेतुले वैद्यनाथधाममा आयोजना हुने बोलबम कार्यक्रमको महत्व धेरै रहेको पूर्व जिल्ला सभापती भरत कुमार स्वारले बताउनु भयो।
नेपालका चार धाममध्येको एक वैजनाथधाममा गरिने विभिन्न कार्यक्रमहरुले यस क्षेत्रको धार्मिक तथा पर्यटकीय क्षेत्रमा महत्वपूर्ण सहयोग पुग्ने वैद्यनाथधाम पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भरत बहादुर कुवरले बताउनु भयो।
साउन महिना भगवान् शिवको प्रिय महिना मानिने हुँदा भक्तजनहरुले सोमबारको दिन उपासना गरी नजिकको पवित्र नदी, कुण्ड तथा तलाउबाट जल उठाएर शिवलिङ्गमा चढाउने चलन छ ।