साँफेबगर ।
अछामको साँफेबगर नगरपालिकाको साँफेबजार क्षेत्रमा जडान गरीने भनिएको सिसि टिभि क्यामेरा आजबाट जडान हुने भएको छ।
आर्थिक वर्ष २०७८/०७९ मा दुई पटक टेण्डर आव्हान गर्दा पनि मापदण्ड नपुगि रद्ध भए पश्चात २०७९ असारमा कोटेसन मार्फत हिकभिजन कम्पनिको नाईटभिजन (Hikvision DS-2DE4215IW-DE (E) 2MP 15× Network PTZ IR Speed Dome) सिसि टिभि क्यामेरा खरीद गरीएको थियो।
साँफेबगर नगरपालिकाका अनुसार खरिद रकम आठ लाख पचास हजार राखि जोड्ने कार्यको ज्याला भुक्तानि खरिद रकम बाहेक गर्ने निर्णय भए पनि विविध कारणले सिसि टिभि जडान कार्यमा ढिलासुस्ति भएको बताएको छ।
शुक्रबार साँफेबगर नगरपालिकामा बसेको सरोकारबालाहरुको छलफलले साँफेबगर नगरपालिकाका दुवै बजार हाटबजार र एयरपोर्ट बजारको अवलोकन गरी निश्चित पोईन्ट तोकेर सिसि टिभि क्यामेरा जडान गर्ने निर्णय गरेको छ। शुक्रबार भएको निर्णय अनुसार साँफेबगर नगरपालिका वडा नम्बर ३ हाटबजारको वैद्यनाथ प्रवेशद्धार, प्रभालि गाडमा रहेको पक्की पुल नजिक, जिरो पोईन्ट र मंगलसेन, बाजुरा छुटट्टीने सडक बुढिगंगा पक्की पुल र साँफेबगर नगरपालिका ४ एयरपोर्ट बजारको जनकल्याण मावि, महालक्ष्मी विकास बैंकको अघाडि सडक छेउ, छिपेखोला बाईपास चोक आसपास, छिपेखोला पक्की पुल जाने मोड क्षेत्र गरी गरी ८ ठाउँमा सिसि टिभि क्यामेरा जडान गर्ने निर्णय गरेको छ।
सम्भवत शुक्रबारबाट नै सिसि टिभि क्यामेरा जडानको काम सुरु गरीने साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले बताउनु भयो। नियमसंगत भएका कामको भुक्तानि दिने बाहेक पोल पोलमा गएर जडान पोईन्ट निश्चित गरी सिसि टिभि क्यामेरा जडान गर्न आफ्नो एकल निर्णयले सम्भव नहुने र त्यसका लागि जनप्रतिनिधि प्रहरी प्रशासन लगाएतको भुमिका र सहमति अनुरुप हुनु पर्ने साँफेबगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद शर्माले बताउनु भयो।
छलफल र पोईन्ट निश्चित गर्ने कार्यक्रममा साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर, नगर उपप्रमुख शिव बहादुर कुँवर शिलोज, साँफेबगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद शर्मा, ईलाका प्रहरी साँफेबगरका प्रप्रहरी निरीक्षक खगेन्द्र साउँद, जिल्ला ट्राफिक कार्यालय अछामका प्रहरी सहायक निरीक्षक मदन बहादुर बिष्ट, साँफेबगर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कुल बहादुर कुँवर, साँफेबगर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नवराज बुढा लगायत टेक्निसियन टोली लगायतको सहभागिता रहेको थियो।