विषय प्रवेश
विगतका वर्षहरु झैं यस वर्ष पनि सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने मूल नाराका साथ शैक्षिक शत्र २०८१ को भर्ना अभियान सुरु भई विद्यालयहरुमा विद्यार्थीहरुलाई निःशुल्क पाठ्यपुस्तक वितरण भई नियमित पठन–पाठन कार्य सुचारु भई सकेका छन्।
विद्यालयहरुमा विद्यार्थीका नतिजाहरुलाई छलफल, समीक्षा लगायतका कार्यहरुमा विद्यालयहरु अग्रणी स्थानमा छन्। कतिपय विद्यालयहरुमा भने आफूलाई बजारमा अब्बल र गुणस्तरिय साबित गर्न अनेकौ होडबाजीहरु चलि रहेका छन्। विगतका वर्ष झैं यस वर्ष पनि स्तर प्रणाली (लेटर ग्रेडिङ) बाट नतिजाहरु प्रकाशित भएका छन्, भने विद्यालयहरुका शैक्षिक गुणस्तर अझैं संतोषजनक अवस्थामा नरहेको परिस्थिति छ।
गुणस्तरीय शिक्षाको सहज उपलब्धताका लागि राज्यले विभिन्न शैक्षिक नीति निमार्ण गरी तिनको कार्यान्वयनका लागि तिनै तहका सरकार (संघ, प्रदेश र स्थानीय) लाई समेत जिम्मेवार बनाईएको छ। तथापी अपेक्षित उपलब्धि प्राप्त गर्न सकिएको छैन!
शिक्षामा विभिन्न नवप्रवर्तन एक पछि अर्को गरी आई रहेका छन्। विद्यालय शिक्षालाई कसरी सुधार गर्न सकिन्छ भन्ने सन्दर्भमा सरकारले संघीय प्रार्देशिक एवं स्थानीय बजेट वक्तव्य मार्फत शिक्षामा बजेट वृद्धि गर्ने विभिन्न घोषणा गरेका छन्। त्यसका बाबजूत पनि वर्तमान शैक्षिक अवस्था अपेक्षित स्तरमा पुगाउन सक्नु अहिलेको ठुलो चुनौतीको रुपमा खडा छ।
शैक्षिक बहसमा विभिन्न सरोकारवालाहरुले शैक्षिक गुणस्तरको सवालमा एक अर्कालाई दोषारोपण गर्ने परम्परा छ। यस अवस्थामा गुणस्तरीय शिक्षा अहिलेको चर्चाको चूलीमा चुलिएको छ।
गुणस्तरीय शिक्षा के हो?
सामान्य अर्थमा व्यक्तिको सर्वांगीण पक्षको विकासका लागि व्यक्तिको रुचि, इच्छा, चाहनालाई मध्ये नजर गर्दै दैनिक जीवनयापनमा प्रत्यक्ष सहयोग पुग्ने सीप सहितको शिक्षा जसले व्यक्तिलाई अन्तराष्ट्रिय स्तरमा समेत प्रतिस्पर्धा गर्न सक्ने बनाउछ, त्यस्तो शिक्षा नै गुणस्तरीय शिक्षा हो। डा. हरि प्रसाद पोखरेलले गुणस्तरीय शिक्षालाई “कुनै विषयवस्तु, घटना, परिवेश प्रतिको समर्थन र विरोध भन्दा पनि आलोचनात्मक चेत विकास गराउन सघाउने शिक्षा हो।“ सिकेका कुरालाई गुण र दोषको आधारमा विस्लेषण गर्ने क्षमता हो।
यसलाई ज्ञान सिपले सुसज्जीत परिवर्तित मनोवृति भएको, परम्परागत मूल्यमान्यता प्रति सचेत नागरिक तयार गर्ने आधार हो। त्यसैले गुणस्तरीय शिक्षा व्यक्तिको शारीरिक, मानसिक, सैक्षिक, बौद्धिक, संवेगात्मक, व्यावहारिक गरी बहुआयामिक पक्षसंग सम्बन्धित विषय हो। त्यसैले गुणस्तरीय शिक्षालाई बुँदागत रुपमा यसरी प्रस्तुत गर्न सकिन्छ।
यो शिक्षक, अभिभावक, विद्यार्थिसंग सम्बन्धित त्रिपक्षीय प्रक्रिया हो।
यो अन्तरक्रियात्मक प्रक्रिया हो।
यो विज्ञानको उपज हो।
कक्षा भित्र र कक्षा बाहिर हुने कार्यहरुको समष्ठि हो।
गतिशिल शिक्षणको नमूना हो।
चेतनात्मन एवं अचेतनात्मन अवस्था हो।
यो उत्प्रेरित विद्यार्थी र उत्साहित शिक्षक बीचको अन्तरक्रियाको प्रक्रिया हो।
त्यसैले गुणस्तरिय शिक्षा जीवन संचालनको आधार हो। महान दार्शनिक प्लेटोले मानिसले प्राप्त गरेको शिक्षाले नै उसको भविष्य निर्धारण गरेको हुन्छ भनेका छन्। यसर्थ गुणस्तरीय शिक्षा आर्जन गर्नाले गुणस्तरीय जीवन यापन गर्न स किने कुरामा दुई मत छैन।
यसै गरी एक अर्का विद्वान विवेकान्नदले “मानिसमा भएको सम्पूर्णताको पहिचान नै शिक्षा हो“ भनेर परिभाषित गर्नु भएको छ, जसको तात्पर्य एक स्वस्थ, मर्यादित समाजिक जीवन जिउनका लागि गुणस्तरीय शिक्षा नै निर्वैकल्पिक आधार हो भन्न सकिन्छ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर हुनुका कारणहरुः
विश्व बजारले विज्ञान र प्रविधिको प्रयोगसंगै विश्व बजारमा artificial intelligence ले अखडा जमाई सकेको वर्तमान सन्दर्भमा शिक्षामा परम्परावादी सोच, धारणा र पद्धतिमा परिवर्तन ल्याई समय सापेक्ष परिवर्तन गर्न नसक्नु, नखोज्नु नै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर मजबूत हुन नसक्नुको प्रमुख कारण हो।
राज्यबाट वार्षिक रुपमा शिक्षामा गरीने लगानी पर्याप्त रुपमा वृद्धि भई रहेको भए तापनि स्थानीय व्यावस्थापनमा अभिभावकको जिम्मेवार हिस्सेदार भावना कमजोर हुनु पनि एक कारण हो। वर्तमान नेपालको संविधानले पनि शिक्षालाई अनुसूची ८ मा स्थानीय तहको एकल अधिकारको सूचीमा सूचीकृत गरेको छ। यसले सार्वजनिक शिक्षाको जिम्मेवारी स्थानीय सरकारमा रहेको देखाउछ। प्रभावकारी नियमनका लागि स्थानीय सरकारको आवश्यकता महसुस गरी शिक्षाको अधिकार स्थानीय तहलाई हस्तान्तरण गरिएको भएता पनि कमजोर नियमनकारी भूमिकाका कारण शैक्षिक गुणस्तरमा ह्रास पुगेको छ। शिक्षक विद्यार्थी अनुपात अनुसार विषय शिक्षकको दरबन्दिको व्यवस्था नहुनु भएका शिक्षकहरु पर्याप्त रुपमा प्रविधिसंग दक्ष नहुनु र शिक्षणमा परम्परावादी शिक्षण विधिले प्रश्रय पाउनु, प्रशासकको नेतृत्व क्षमतामा कमी हुनु, विद्यालय स्तरमा पुरस्कार र दण्डको कमी हुनु लगाएतका विविध विषयवस्तुहरु रहेका छन्।
गुणस्तरीय शिक्षाका लागि आवश्यक तत्वहरुः
कुशल शिक्षक र बालमैत्री शिक्षण
विषयवस्तुमा दक्ष, प्रविधिको ज्ञान भएको, शिक्षण सिकाई क्रियाकलापमा दख्खल राख्ने, तालिमा प्राप्त, पेशा प्रति जागरुक, जवाफदेही, उत्साहित, गैर राजनीतिक चरित्र भएको, उत्साही शिक्षक नै गुणस्तरीय शिक्षाको पहिलो तत्व हो।
सफल प्रशासक
जागरुक, बौद्धिक ज्ञान भएको, रचनात्मक योजनाहरु भएको, अविभेदकारी, दक्ष, मिलनसार, परीवर्तनकामी कुशल प्रशासक शैक्षिक गुणस्तर सुधारको अभिन्न अंग हो। जबसम्म्म प्रशासक सफल हुन सक्दैन तब सम्म शैक्षिक गुणस्तरले फड्को मार्न सक्दैन।
विद्यालयको भौतिक व्यावस्थापन र वित्तिय व्यावस्थापनको अवस्था
कक्षा कोठाको उचित व्यावस्थापन अन्तर्गत पाटीको उचित व्यावस्थापन, प्रयाप्त फर्निचरको व्यवस्था, उचित किसिमको प्रकाशको व्यावस्था भएको उज्यालो कक्षा कोठा, खानेपानी, छात्रछात्राको लागि छुट्टै शौचालय, पर्याप्त खेल मैदान, खेल सामग्री, पुस्तकालय, प्रयोगशाला, लागायतका व्यावस्थापनहरु र विद्यालयको आवश्यक पुर्वाधार विकास, शैक्षिक सामाग्री निर्माण खरीद र प्रयोगको अवस्था, विभिन्न अतिरिक्त क्रियाकलाप संचालनका लागि पर्याप्त वित्तिय व्यावस्थापन जरुरी छ।
- पाठयक्रम, पाठ्यपुस्तक र विद्यार्थिको रुचि, स्तर र क्षमता बीच तालमेल हुन पनि गुणस्तरीय शिक्षा को कारक हो।
जिज्ञासु बालबालिका र जिम्मेवार अभिभावक
जबसम्म्म सिकारु स्वस्फूर्त रुपमा सिकाई प्रक्रियामा भाग लिदैन तबसम्म सिकाई सान्दर्भिक हुन सक्दैन, यसर्थ सिकारुलाई पढाउने भन्दा पढन सकने बनाउनु उपयुक्त हुन्छ। यसका साथै जिम्मेवार अभिभावक, विद्यार्थिको सबै पक्षसंग जानकर भई विद्यालयको सम्पर्कमा हुनुले पनि सिकाईको संवेदनशीलता प्रति गम्भीर बनाउँछ।
नियमित अनुगमन र नियमन
शैक्षिक क्षेत्रसंग सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुको चिन्तन, नियमित अनुगमन पृष्ठपोषणको पर्याप्त व्यवस्था विद्यालयमा हुनुले शिक्षणलाई थप प्रभावकारी बनाई शिक्षकलाई जवाफदेहि बनाउन सहयोग गर्दछ र जसको सकारात्मक प्रभावको कारण शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुग्छ।
यसका साथै भौगोलिक विकटता, चरम गरीबी, शिक्षा साझेदारहरु बीच सहकार्य र समन्वयको कमी, निर्णय प्रक्रियामा स्थानीयको सहभागिता न्यून, नीति निमार्णमा शिक्षा साझेदारको प्रतिनिधित्व गराई अपनत्वभाव सृजना गर्न नसक्नु, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको आवश्यक तत्व हुन्।
सामुदायिक विधालयको शैक्षिक गुणस्तर सुधारका सुझावहरु :
- तीनै तहका सरकार, शिक्षक, अभिभावक, गैर सरकारी संस्था, लगायत सम्पूर्ण सरोकारवालाहरुको साथ सहयोग र सहकार्य सहित सुधारका लागि योजना बनाई कडाईका साथ कार्यान्वयन गर्ने।
- विद्यालयमा रुपान्तरणकारी पञ्च वर्षीय योजना सहित, दक्ष, प्रविधिको ज्ञान भएका नेतृत्वको व्यवस्था गरी व्यवस्थापकीय एवं नेतृत्व क्षमता अभिवृद्धि गर्नु पर्ने देखिन्छ।
- शिक्षकहरुका लागि विभिन्न तहगत रुपमा नियमित सेवाकालिन तालिमहरु व्यवस्था गरी कक्षा कोठामा सो तालिमाबाट प्राप्त ज्ञानको प्रयोगलाई अनिवार्य गर्ने।
- शिक्षक प्रशिक्षण तथा प्रोत्साहन अभिवृद्धि गरी उत्प्रेरणा अभिवृद्धि गर्ने।
- विद्यालय स्तरमा overhead projector, smartboard लगाएतका सामग्रीको प्रयोगलाई सम्भव भएसम्म्म अत्याधिक प्रयोग गर्ने।
- विद्यालय सुधार योजना, वार्षिक शैक्षिक योजना, वार्षिक शैक्षिक कार्य तालिका निर्माण गरी प्रभावकारी कार्यान्वयनमा ध्यान दिने।
- सक्षम नेतृत्व, उत्कृष्ट शिक्षक उत्सुक सिकारु, नवीनतम सिकाई अभ्यास, भौतिक पूर्वाधार सिकाई वातावरण, पर्याप्त लगानी, प्रगतिशील शिक्षा नीति, उपयुक्त शिक्षण विधि, आकर्षक शैक्षिक सामग्रीहरु, नियमित अनुगमन नै सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि सुधार गर्नु पर्ने क्षेत्रहरु हुन्।
निष्कर्षः
गुणस्तरीय शिक्षाको आजको आवस्यकतालाई स्वीकार्दै माथि उल्लेखित सुधारका सुझावहरुको अक्षरशः पालनामा सरोकारवाला सबै (शिक्षक, विद्यार्थि, जनप्रतिनिधि, अभिभावक, आदि) को सार्थक प्रयासबाट मात्र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि हुने कुरा अवश्यमभावि छ।
जैसी अछामको सा.नं.पा.-१०, घुघुरकोट, अछाम स्थित श्री बेतालमाण्डौँ माविका स्थायी शिक्षक हुनु हुन्छ।