साँफेबगर ।
राष्ट्रपति रामचन्द्र पौडेलले बैद्यनाथ धाम पर्यटकको आर्कषणको केन्द्र भएको बताउनु भएको छ। अछामको बैद्यनाथमा आयोजना भएको कोटिहोमको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले बैद्यनाथ धामलाई पर्यटकको आर्कषणको केन्द तथा महत्वपूर्ण गन्तव्यको रुपमा विकास गर्न तीनै तहका सरकारले विस्तृत अध्ययन गरि गुरुयोजना बनाई काम गर्नु पर्ने बताउनु भयो।
राष्ट्रपति पौडेलले सुदूरपश्चिम सुदूर मात्र नभई सुन्दर पश्चिम भएको बताउनु भएको छ। उहाँले सुदूरपश्चिम पुण्य भुमी समेत भएको बताउनु भयो। बैद्यनाथ धामको विकास, संरक्षण तथा सम्बद्र्धनको लागि तिनै तहका सरकारले आफ्नो बजेट, नीति तथा कार्यक्रममा समावेस गरि यस क्षेत्रमा पूर्वाधार निर्माण गर्नु पर्ने राष्ट्रपति पौडेलको भनाई रहेको थियो।
सुदूरपश्चिम ऋषिमुनिहरुले तपश्या गर्ने तपोभुमी भएको भन्दै राष्ट्रपति पौडेलले यस क्षेत्रमा बढीमालिका सहित थुप्रै देवी देवताका मन्दिरले भरिभराउ भएको उल्लेख गर्नु भएको छ। नेपालका चार धाम मध्येको एक ऐतिहासिक धार्मीक, सांस्कृति तथा पर्यटकिय दृष्टीकोणले महत्वपूर्ण बैद्यनाथ धाममा उभिन पाउँदा आनन्दको अनुभुति भएको राष्ट्रपति पौडेलले बताउनु भयो।
पौराणिक गन्थ्रमा बैद्यनाथ क्षेत्रको महत्वलाई सुन्दर ढंगले बर्णन गरिएको भन्दै राष्टपति पौडेलले श्री बैद्यनाथ धाम कोटीहोमले लिएको सबै उद्देश्य पुरा हुने बिश्वास व्यक्त गर्नु भयो। बैद्यनाथ धामलाई आर्कषण्को केन्द्र बनाएर पर्यटक भित्राउन सकिने र त्यसो हुँदा आम्दानी र रोजगारी सृजना भई देश विकासमा सेत टेवा पुग्ने राष्ट्रपति पौडेलको भनाई रहेको थियो।
कोटिहोम मुल आयोजक समितिका अध्यक्ष एवम प्रतिनिधी सभा सदस्य शेर बहादुर कुँवरको अध्यक्षतामा भएको उद्घाटन समारोहमा सुदुरपश्चिम प्रदेश प्रमुख देवराज जोशी, मुख्य मन्त्री कमल बहादुर शाह, पूर्व उपप्रधानमन्त्री डा. भिम रावल, प्रमुख आचार्य तथा कथा वाचक प्राध्यापक श्री भवानी प्रसाद खतिवडाले शुभकामना मन्तव्य राख्दै बैद्यनाथ धाममा आयोजना भएको कोटिहोमले यसको प्रचार–प्रसार र विकासमा टेवा पुग्ने बताउनु भएको थियो। साथै देशमा शान्ति, एकता, मेलमिलापर सद्भाव समेत कायम हुने उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले विश्वास व्यक्त गर्नु भएको थियो।
उद्घाटन कार्यक्रममा मुल आयोजक समितिका सहअध्यक्ष तथा प्रतिनिधी सभा सदस्य पुष्प बहादुर शाहले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा प्रदेश सभा सांसद मेघराज खड्काले कोटिहोमको उद्धेश्यका बारेमा जानकारी दिनु भएको थियो। उद्घाटन कार्यक्रममा साँफेबगर नगरपालिकाका पूर्व नगर उपप्रमुख कुल बहादुर कुँवरले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने उद्घाटन कार्यक्रमको संचालन यज्ञराज उपाध्यायले गर्नु भएको थियो।
कार्यक्रममा भुवो, होरी, न्याउले लगायतका सांस्कृित झाँकी समेत प्रस्तुत गरिएका थिए। कोटिहोम फागुन २५ गते शिवरात्री सम्म चल्ने आयोजकले जनाएको छ।
बैद्यनाथ कोटिहोमको अवसरमा ८ जना सम्मानित
बैद्यनाथ कोटिहोम २०८० को अवसरमा ८ जान सम्मानित हुनु भएको छ। बैद्यनाथ क्षेत्रको विकास, संरक्षण तथा प्रचार प्रसारमा महत्वपूर्ण योगदान गरेको भन्दै आड जनालाई सम्मान गरिएको कोटिहोम मुल आयोजक समितिका संयोजक शेर बहादुर कुँवरले बताउनु भयो।
सम्मानित हुनेमा पूर्व आईजीपी मोतीलाल बोहरा, पूर्व जिविस सभापति भरत कुमार स्वाँर, पूर्व प्रदेश सभा सांसद हर्क बहादुर कुँवर गोविन्द, बैद्यनाथका संस्थापक संरक्षक सुरत बहादुर शाह रहनु भएको छ।
यस्तै मदन बाबा भक्ति केन्द्रका अछाम जिल्ला अध्यक्ष भरत बहादुर खड्का, महेन्द्र कुवँर फाउण्डेशन अध्यक्ष महेन्द्र कुँवर, प्राजिक यज्ञराज उपाध्याय र डण्डीराज जोशी रहनु भएको छ।
उहाँहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मन प्रदान र माला लगाई दिनु भएको थियो भने प्रदेश प्रमुख देवराज जोशीले दोसल्ला ओडाई सम्मान गर्नु भएको थियो।