साँफेबगर ।
अछामको साँफेबगरका विकटका ६ वडाहरु समेटेर छुट्टै पालिका बनाउन मग गर्दै नगर अधिवेशनमा प्रस्ताव पेश गरिएको छ। विकटका ६ वडाहरु समेटेर छुट्टै पालिका बनाउन मग गर्दै बाह्रौ नगर अधिवेशनमा प्रस्ताव पेश गरिएको हो।
साँफेबगर नगरपालिकाका ६ वटा वडाहरुले छुट्टै पालिकाको माग गर्दे प्रस्ताव पेश गरेका छन्। नगरपालिकाका विकट वडाहरु ९, १०, ११, १२, १३ र १४ लाई समेटेर छुट्टै पालिका बनाउने प्रस्ताव नगर सभाको १२ औं अधिवेशनमा पेश गरिएको गरिएको वडा नम्बर १० बुढाकोटका वडा अध्यक्ष दिपक कुँवरले जानकारी दिनु भयो।
६ वटा वडा अध्यक्ष सहित २४ जना नगर सभा सदस्यहरुले हस्ताक्षर गरेको प्रस्ताव नगर सभामा पेश गरेको वडा अध्यक्ष कुँवरले बताउनु भयो।
विकासको दृष्टिकोणले पछाडी पारिएकोले छुट्टै पालिका अति आवश्यक रहेको वडा नम्बर १० घुघुरकोटका वडा अध्यक्ष ललित बोगटीले बताउनु भयो। स्थानीय सरकार संचालन ऐन २०७४ को ३ दफा अनुसार छुट्टै पालिका बनाउन सकिने व्यवस्था रहेकाले त्यहि अनुरुप प्रस्ताव पेश गरिएको बोगटीले बताउनु भयो।
उहाँले भन्नु भयो, आज प्रस्ताव पेश गरेका छौं। नगर सभाबाट प्रस्ताव दुई तिहाई बहुमतले पारित हुनु पर्छ र हुन्छ भन्नेमा विश्वस्त छौं। प्रस्ताव पारित भए पछि १५ दिन भित्र प्रदेश सरकारलाई पेश गर्नु पर्दछ र त्यस पछि संघ सरकारलाई प्रदेशले जस्ताको जस्तै पेश गर्छ। राजनितिक,आर्थिक सामाजिक हिसाबले ६ वडाहरु पिछडिएका क्षेत्र भएकाले यसको समग्र विकासका लागि यो कदम चालेको बोगटीले बताउनु भयो।
नगरपालिकाको भित्रको वडा भनिए पनि सामान्य पूर्वाधारका विकासहरुले समेत छुन नसकेको वडा नम्बर १२ का वडा अध्यक्ष जनक कडायतले बताउनु भयो। राजनितिक हिसाबले भोट बैंकको रुपमा मात्र नहेरेर चौतर्फि विकासका लागि सोच्न आवश्यक रहेकाले सबैको सहयोगको अपेक्षा गरेको कडायतले बताउनु भयो।
साँफेबगर नगरपालिकाको नगर सभाको बाह्रौ अधिवेशन शनिबार सुरु भएको छ। अधिवेशनमा व्यवसाय दर्ता विधेयक २०८०, पुर्नस्थापना केन्द्र तथा सेवा कोष ऐन २०८०, खानेपानी तथा सरसफाई ऐन, आधारभुत शिक्षा परिक्षा संचालन कार्यविधि ससोधन सहित पारित भएको छ। सभामा नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले ऐन कार्यविधि विधेयक प्रस्तुत गर्नु भएको थियो।