साँफेबगर ।
अछामको साँफेबगर नगरपालिकामा आयोजित दोस्रो नगर प्रमुख रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। उक्त प्रतियोगितामा ५ स्वर्ण, ३ रजत र १ कास्य गरि ९ अंक प्राप्त गरेका महेन्द्र मावि वयलपाटा प्रथम भएको छ।
४ स्वर्ण, ४ रजत र ५ कास्य गरी १३ अंक प्राप्त गरेको सूर्यचन्द मावि कालिमाटी दोस्रो र ३ स्वर्ण, ७ रजत र १ कास्य गरी ११ अंक प्राप्त गरेको जनकल्याण मावि तेस्रो भएको छ। यस्तै भलिवल प्रतियोगितामा छात्र तर्फ प्रभाधम्कोट मावि र छात्रा तर्फ हिमालय मावि प्रथम भएका छन्।
छात्र तर्फ प्रभाधम्कोटले कृष्ण मावि नवाठानालाई पराजित गर्दै प्रथम भएको हो भने छात्रा तर्फ जनकल्याण माविलाई पराजित गर्दै हिमालय मावि प्रथम भएको शिक्षा शाखाका प्रमुख हिरादत्त भट्टले जानकारी दिनु भएको छ।
साँफेबगर नगर खेलकुद विकास समितिका अध्यक्ष अनिल कुँवरको अध्यक्षतमा भएको समापन कार्यक्रममा प्रमुख अतिथि साँफेबगर नगर प्रमुख राजेन्द्र बहादुर कुँवर रहनु भएको थियो। समापन कार्यक्रममा वोल्दै नगर प्रमुख कुँवरले साँफेबगरमा राष्ट्रिय स्तरका प्रतियोगिता खेल खेल्ने खेलाडी रहेको धारणा व्यक्त गर्नु भयो।
उहाँले नगर प्रमुख रनिङ्ग शिल्ड प्रतियोगिता सम्पूर्ण खेलमा देखाएको प्रर्दशनले खेल क्षेत्रमा राम्रो सम्भावना देखिएको धारणा व्यक्त गर्नु भयो। उहाँले विद्यालयबाट खेलाडीहरुको पहिचना गरेर नगरमा अवको दिनमा प्रशिक्षणका कार्यहरु अगाडि बढाईने जानकारी दिनु भयो।
कार्यक्रममा विशिष्ठ अतिथि नगर उपप्रमुख शिव बहादुर कुँवर शिलोजले राष्ट्रको गौरव बढाउने र नेपालको शिर उच्च गराउने कार्यमा खेलाडीहरुको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो। उहाँले खेलाडीहरुले खेल अनुशासित पूर्वक खेल्नु पर्नेमा जोड दिनु भयो। प्रतियोगितामा नगरका १६ वटा विद्यालयको सहभागिता रहेको छ।
नगर खेलकुद विकास समितिका सदस्य शंकर कुँवरले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख हिरादत्त भट्टले गर्नु भएको थियो।