नेपाल धरतीको यस्तो भूखण्ड हो जो असाधारण, अनुपम र अद्वितीय छ । यो विस्मयकारी भूगोल हो । यहाँ सर्वोच्च शिखर सगरमाथा मात्र होइन, ८ हजार मिटरभन्दा अग्ला थुप्रै हिमशिखर छन् । समुद्री सतहबाट ५८ मिटर उचाइमा रहेको होचो भूभाग कचनाकवल (केचना) जस्तो ठाउँ पनि यहीं छ । यहाँ प्राकृतिक विविधताका यस्ता अनेक दृष्टान्त छन् । हाम्रो हिमालले हिउँ ओढेर बस्छ, चट्टान बोकेर बस्छ र पानी समातेर बस्छ । यहाँ उर्वर र हरिया पहाडहरू छन् । यसका चट्टानभित्रबाट पानीका मुहान फुट्छन् र पुन:सिञ्चनको प्रक्रिया निरन्तर चलिरहन्छ । यहाँ वनस्पति लगाउनुपर्दैन, आफैं उम्रिन्छ । फूल रोप्नुपर्दैन, आफैं उम्रिन्छ । रूख, लता, लतिका र लहरा वनमा आफैं उम्रिन्छन् । यिनलाई कसैले सिञ्चन गरेको छैन । आफैं रमाएर फुलेका छन्, मुस्कुराएका छन् । कसैका हरिया बाक्ला पात हुन्छन्, कसैका साना मसिना पात । तिनमा बस्न चराहरू आफैं पैदा भएका छन् । तिनको रस चुस्न पुतली, माहुरी, भमरा आदि आफैं उत्पन्न भएका छन् । झारहरूमा खेल्न विभिन्न कीटपतङ्ग आफैं पैदा भएका छन् ।
पानीहरूमा खेल्न माछा, भ्यागुता, गड्यौला आदि आफैं उत्पन्न भएका छन् । तिनमा पनि उचाइ, पानीको तापक्रम र वेगअनुसार विभिन्न प्रजाति छन् । यहाँको पर्या–पर्यावरण कति गजब छ भने पाटेबाघ यहीं छ, हरिण यहीं छ । हरिणले खाने पनि यहीं छ, हरिणलाई खाने पनि यहीं छ । अनौठो चक्र छ प्रकृतिको । अनौठो चक्र छ जीवनको । अक्सिजन लिने जीवन छन् अनि अक्सिजन दिने वनस्पति छन् । यहाँ चिसो र तातो रगत भएका दुई थरी प्राणी बस्छन् । मानिस र अरू जीवजन्तु तातो रगत भएका हुन् भने चिसो रगत भएका सर्प, माछा, भ्यागुतालगायत सरीसृप पनि छन् । जसले जति न्यानोको प्रबन्ध गर्न सक्छ, ऊ चिसो ठाउँमा मस्तसँग बसेको छ । लामालामा रौं भएका चौंरी, याक, भेडा यसका नमुना हुन् । केही व्यावसायिक माछापालनलाई छाड्ने हो भने खेत, खोला र तलाउमा कसैले माछाखेती गरेको छैन । ती आफैं पानीमा अस्तित्वमा छन् । यहाँको प्रकृति जीवनमय छ । जीवनलाई सुरक्षित, सहज र अनुकूल बनाउन पशुपालन, खेतीपाती र आगोको प्रयोग यहीं सुरु भयो । फलफूल, कन्दमूल यहीं सृष्टि भए । मरुभूमिमा यहाँको जस्तो मौसमी परिवर्तन देख्न सकिँदैन । यो भूखण्ड चामत्कारिक छ । हात्ती, गैंडा, पाटेबाघ, ध्वाँसे बाघ यहीं पैदा हुन्छन् । अर्ना, नीलगाई, चौंरी, याक यहीं छन् । डाँफे, मुनाल अनि मयूर यतै नाच्छन् । बाह्रसिंगा र मुडुला पनि यहीं छन् । वरिपरि यसो नियाल्यो भने जीवन र प्रकृतिको दर्शन बुझ्न सजिलो हुन्छ । प्रकृतिले आफ्नो निरन्तरता अनि परिवर्तनशीलतालाई बुझेको छ । यही भूभागमा ज्ञानको प्रारम्भ भयो । चेतनाको प्रारम्भ भयो । सबभन्दा प्राचीन दर्शन यहींको हो ।
त्रेतायुगमै हाम्रो जनकपुरमा ब्रह्माण्ड, सृष्टि, जीवन, मरण, चेतना, शरीर आदि विषयमा शास्त्रार्थ हुने गरेको पाइन्छ । बीज के हो ? रूख के हो ? बीजले आफ्नो पुर्खाका सबै कुरा सम्झिएर बसेको हुन्छ । एउटा सुकेको जस्तो देखिने बीज मलिलो माटो पाउनेबित्तिकै उम्रिन्छ । बाउबाजे जस्ता थिए, त्यस्तै हुन्छ । रंग पनि त्यस्तै लिन्छ, आकार, गन्ध पनि उस्तै हुन्छ । देख्दा, सुँघ्दा र छाम्दा त्यस्तै हुन्छ । पुर्खा के खान्थे, त्यही खान्छ । पुर्खा कस्तोमा रमाउँथे, त्यस्तैमा रमाउँछ । बिरुवा उमारेपछि बीज आफू नष्ट हुन्छ । पुर्खाको आकार लिने काम तिम्रो, सन्तानलाई निरन्तरता दिने काम तिम्रो, पुर्खाजस्तै फुल्ने, बास्ना छर्ने र स्वाद दिने काम तिम्रो भनेर सम्पूर्ण कुरा बिरुवालाई जिम्मा लगाउँछ । कुनै लहरो छ भने उसमा कसरी चढ्ने भन्ने ‘जेनेटिक मेमोरी’ हुन्छ । आफ्नो तौल थाम्ने गरी जरा हाल्नुपर्छ भन्ने पनि उसलाई थाहा छ । यस्ता विषयमा अष्टावक्र, याज्ञवल्क्य, गार्गी आदिबीच विमर्श हुन्थ्यो । महर्षि जनक आफैं पनि त्यस्ता शास्त्रार्थमा सहभागी हुन्थे । ग्रन्थ, शास्त्र आदि ठेली पछि लेखिएका हुन् । पाँच–छ हजार वर्षअगाडि न अंक बनेका थिए, न त अक्षर । कल्पनाको उडान अनि अन्दाजका भरमा गरिने सुन्दर चित्रण यही भूमिमा भएको थियो । हाम्रो साहित्यिक कलाचेतना असाधारण छ । यो ज्ञानभूमि हो । चेतनाको भूमि हो । दुनियाँको पहिलो बाजा यतै बज्यो, पहिलो गीत यतै गाइयो । मानव कण्ठबाट सुमधुर स्वर निस्कियो, यसै भूमिमा ।आगो चिन्ने भूमि पनि यही हो । पकाएर खान जान्ने हाम्रै पुर्खा हुन् । अक्षर र अंक यसै भूमिमा जन्मियो । ज्ञान प्रस्फुटन हुन थालेपछि श्रुति परम्परा हुँदै लेख्य परम्पराको सुरुआत भयो । पहिलो वेद लेखियो । मानव चेतना, विकास, राजनीतिको हिसाबले व्यवस्थित थिति, विधि र न्यायप्रणालीको सुरुआत भयो । त्यति बेला समाज विकास र ज्ञान विकासको गति धीमा थियो ।
तर असाधारण प्रगति भएको थियो । ज्ञानको उन्नतिलाई आगोजसरी जोगाएर राखिएको थियो । त्यति बेला भनेको समयमा आगो निकाल्न सकिँदैनथ्यो । हरेक घरले आगो जोगाएर राख्थ्यो । आगो जोगाउने जिम्मेवारी घरको जेठो सदस्यको हुन्थ्यो । धुनी जगाएर राख्नु सानो कुरा थिएन । झटपट वा उत्तिन्खेरै वा छिटै हुने कामलाई ‘आगो लिन जाने जस्तो’ भन्ने आहान नै चलेको छ । आगो नभईनहुने कुरा थियो । कथंकदाचित् आगो निभ्यो भने छिमेकीकहाँ आगो लिन जाने कुरा हुन्थ्यो । सबै सामल ठिक्क पारेर राख्यो, आगो आउनेबित्तिकै पकायो, खायो ।चिकित्साशास्त्रको थालनी यसै धरतीमा भयो । शल्यक्रिया यही भूमिमा प्रयोग भयो । अश्विनीकुमारसम्मको कुरालाई मिथक मान्ने हो भने पनि ऋषि चरक यसै भूमिमा जन्मिए । उनी आयुर्वेदका जनक थिए । चरकसंहिता आज पनि अस्तित्वमा छ । आधुनिक चिकित्साका जनक हिपोक्रेटसभन्दा पहिले यसै भूमिमा सर्जरी चलेको थियो । त्यति बेला आयुर्वेद व्यवस्थित शास्त्रका रूपमा आइसकेको थियो ।
लक्ष्मण बिरामी हुँदा हनुमानले सञ्जीवनी बुटी नचिनेर पर्वत नै उठाएर ल्याएको कथा छ । ऋषि सुश्रुतले उहिले नै कोशी किनारमा काटिएको औंला जोडिदिएका थिए । लडाइँमा काटिएर भुइँमा झरेको नाक जस्ताको तस्तै जोडिदिनु सामान्य कुरा थिएन । उनले काटेका घाउ सिलाउने आदि काम गरे । मानवजातिको इतिहासमा त्यो धेरै महत्त्वपूर्ण घटना थियो । हाम्रो मध्ययुगीन अर्थतन्त्र आत्मनिर्भर किसिमको थियो । एउटा परिवारको आफ्नै घर र खेतबारी हुन्थ्यो । खेतबारीमा धान, मकै, गहुँ, तोरी, फापर, आलु, सागसब्जीको उत्पादन हुन्थ्यो । पशुपालन आफ्नै हुन्थ्यो । कुखुरा बाख्रा, सुँगुर, राँगा पालेका हुन्थे, आफ्नो आवश्यकताअनुसार तिनलाई प्रयोग गर्थे । गाईभैंसी पालेकाले दूध, दही, मही, घिउ छेलोखेलो हुन्थ्यो । कपासबाट कपडा बुनिन्थ्यो । कुकुर पाल्ने चलन थियो । कुकुरले घरको रखबारी गर्थ्यो । उसले घरवालाको इजाजत नलिईकन कसैलाई सोझै प्रवेश दिँदैनथ्यो । कुकुरले घरको मात्र नभईकन घोडा, बाख्रा, गाई, भैंसी आदिको पनि उत्तिकै रखबारी गर्थ्यो । स्यालजस्ता जनावर कुकुरको छेउमा आउनसमेत सक्दैनथे । त्यति बेलाको कुकुर कामकाजी हुन्थ्यो । सिकार पक्रन पनि मद्दत गर्थ्यो । पशुपालन र कृषिमा प्रवेश गरेपछि मानिसले नयाँ कुरा सोच्न थाल्यो । नयाँनयाँ आविष्कार गर्न थाल्यो । एक ढंगले खान–लगाउन पुगेपछि मानिस वाद्यवादन, ढुंगा, माटो र काठको कलातिर लाग्यो । चराको जस्तै भोलिपल्ट कहाँ गई खाने भन्ने चिन्ताबाट मुक्त भएपछि न चिन्तन सुरू हुने हो ! नयाँनयाँ ज्ञानको विस्तारमा पनि यो भूभाग अग्रणी छ । यसबीचमा विकासले धेरै रूप लियो । समुद्र किनारका देशहरूले डुंगाको प्रयोगलाई जहाजमा परिणत गरे । बारुदको प्रयोगले विस्फोटक चिज बनायो । त्यसले युद्ध जित्न मद्दत गर्यो । पछि बन्दुकको आविष्कार भयो । देश कब्जा गर्न झन् सजिलो भयो ।मेसिन, इन्जिन, बारुद र बन्दुकको प्रभुत्वका कारण फिरंगीले हाम्रा धेरै भूभाग नियन्त्रण गरे । तर सबै भूभाग कब्जा गर्न भने सकेनन् । किनभने उनीहरू छिरेर आउन सक्ने गौंडा थिएनन् । उनीहरू उकालोमा कुद्न सक्ने कुरा भएन ।
हाम्रा पुर्खाले एक किलोमिटरसम्म घुएँत्रो फाल्न सक्थे । जबकि बन्दुकको गोलीले एक किलोमिटर हान्न सक्दैनथ्यो । त्यो मिसाइलको जमाना थिएन । हाम्रा पूर्वजहरूले बहादुरी देखाए । खुकुरी वा तरबार लिएर बन्दुक र तोपसँग लडे । आफूलाई अपराजेय सावित गरे । त्यसैले यो वीरभूमि हो । यो ज्ञानभूमि हो, तपोभूमि हो । यो आविष्कारको भूमि हो । त्यस कारण नेपालीहरू विद्वान्का सन्तान हुन् । वीरका सन्तान हुन् । आविष्कारकका सन्तान हुन् । कुनै समय र कुनै पक्षमा केही कमीकमजोरी देखिनु अर्को कुरा हो ।मैले पहिले एउटा बीजको कुरा गरें । ओसिने वा गाडिने ठाउँ पायो भने सुकेको बीजले फेरि जीवन पाउँछ । सुकेको बीउभित्र हरियो सौन्दर्य लुकेको हुन्छ । हरेक बीजले आफ्नो पुर्खा सम्झिरहेको हुन्छ । यहाँका जनता विद्वान्, लडाकु र सिर्जनशील पुर्खाको ‘मेमोरी पावर’ हुन् । उनीहरूले खोज–अनुसन्धाताको ‘मेमोरी पावर’ बोकेर बसेका छन् । उनीहरूले अवसर पाए भने धेरै सदुपयोग गर्छन् र चामत्कारिक परिणाम हासिल गर्छन् । नेपाल पराधीन नै नभई जोगिएर बसेको देश हो । त्यसैले हाम्रो स्वतन्त्रता दिवस छैन । किनभने नेपाल कहिल्यै पराधीन भएन ।हामीसँग राष्ट्रिय गौरव र स्वाभिमानको झन्डा छाड्नै नचाहने जिन वा डीएनए छ । त्यो विद्वत्ता आजको होइन । मानिसले झलझली नसम्झिएको मात्र हो । तर मस्तिष्कले नयाँनयाँ कुरा लिँदै गयो, पुराना कुरा सम्झिएन भने पनि शारीरिक रूपले स्वत: सम्झना हुन्छ ।
त्यस कारण मस्तिष्कले छिट्टै समात्न सक्छ । हामीले बाख्राको पाठो वा गाईको बाच्छालाई जुनसुकै उत्कृष्ट स्कुलमा पढाए पनि त्यसलाई कुनै खास प्रगति गराउन सक्दैनौं किनभने उसको पुर्खाको त्यस्तो कुनै लगानी छैन । त्यो ज्ञानको तत्त्व छैन । उसका पुर्खाले उसलाई दिएको मस्तिष्कले त्यस तहमा काम गर्न सक्दैन, जुन तहमा मानिसको पुर्खाले गरेको छ । मानिसमा क्षमताको पुनरावृत्ति हुन्छ । बायोलोजिकल जेनेटिक मेमोरी हुन्छ । ज्ञान भनेको थपिँदै जाने प्रक्रिया हो । अन्य देशमा मैले ‘असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय, मृत्योर्मा अमृतं गमय’ जस्ता मन्त्र पाएको छैन । ‘सत्यं ब्रूयात्, प्रियं ब्रूयात्’ जस्ता मन्त्र अन्यत्रका साहित्यमा किन छैनन् ? हाम्रो साहित्य मानवजातिका उच्चतम वैचारिक उपलब्धिहरूको उचाइमा चढेको छ । यसले सदैव राम्रो कामका लागि उत्प्रेरणा दिएको छ । हाम्रो पूर्वीय साहित्यले सकारात्मक कुराहरू बताउँछ । सद्बुद्धि, सन्मार्ग र सत्कर्ममा प्रेरित गर्छ । सद्ज्ञान, सद्विचार र सद्भाव बाँड्छ ।यो देवहरूको भूमि हो, देवीहरूको भूमि हो । हामी महान् काम गर्ने आफ्ना पूर्वजहरूलाई देवदेवी भन्ने गर्छौं । तिनका बारेमा कैयौं काव्य रचिए । अनेकन् नाटक लेखिए । अहिले देवी, भगवती आदिको जुन स्वरूप देखाइएको हुन्छ, त्यो त मानिसले आफूलाई मन परेको सुन्दरता छानेको मात्र हो । राम्रा स्याउजस्तो गाला भएकी, लिपस्टिक वा गाजल लगाएकी, सुनका गहनाले पहेंलपुर भएकी, औंठी–मुन्द्रा लगाएकी वा कानसम्म नत्थी लगेकी स्त्रीको तस्बिर अहिलेको चेतनाको परिणाम हो । सुन्दरता सौन्दर्यचेतले निर्धारण गर्ने कुरा हो । मान्छे सुन्दर त छँदै थियो, पहिले नै । त्यसको पनि विकास हुँदै गएको छ । समयअनुसारको सुन्दरता त हुन्थ्यो नै ।
प्रकृतिले सुन्दर चीज बनाउँछ । फूल कसैले हेर्छ कि हेर्दैन भनेर फुलेको होइन । कसैले सुँघ्छ भनेर बास्ना मीठो बनाएको पनि होइन । मानिसमा कहीं न कहीं जैविक प्रवृत्ति हुन्छ । त्यसले सचेतनालाई कमजोर बनाउँछ । त्यसकारण मानिसले कहिलेकाहीं सामाजिक चिन्तन छाडिदिन्छ । जैविक वृत्ति स्वार्थी वृत्ति हो । सचेत वृत्ति भनेको मानवीय वृत्ति हो । सचेत मानववृत्ति र जैविक वृत्तिबीच अन्तरविरोध भइरहन्छ । सामाजिक मूल्य र मान्यताअनुसार आफूलाई जे ठीक लाग्छ, अरूलाई पनि त्यस्तै व्यवहार गर्नुपर्छ भन्नु सचेत मानववृत्ति हो । तर अहिले सामाजिकभन्दा वैयक्तिक र जैविक प्रवृत्ति हाबी भएको देखिन्छ । यहाँका मानिस मानवीय र सामाजिक, पवित्र र संगठित भावनायुक्त छन् । यहाँका जनता शान्तिप्रिय र मानवतावादी छन् । यो देवभूमिका बासिन्दा हुन् । देवदेवीका सन्तान हुन् । सिद्धार्थ गौतम किन यही भूभागमा जन्मे र यसै भूमिमा बुद्ध बने ? सिद्धार्थ गौतम विश्वका अरू भागमा किन जन्मिएनन् ? अरू ठाउँमा लडाइँ भइरहेका बेला यहाँ किन शान्तिको सन्देश फैलिन्थ्यो ? यहाँ कसैले बाटो बिराए भने पनि ती सप्रिएर महापण्डित र महाज्ञानी बन्थे । विश्वामित्र, वाल्मीकिहरू त्यसका दृष्टान्त हुन् । हाम्रो देशमा पहाडी भूबनोट छ । एउटा पहाड र अर्को पहाडबीच साना–ठूला खोला हुन्छन् । बर्खामा तर्न सकिने कुनै सम्भावना हुँदैन । हिउँदमा पनि कतिपय खोला तर्न सकिँदैन । एउटै भाषा बोल्ने दाजुभाइ पनि कुनै मुहूर्तमा खोला तरेर पारि गएर खेतीपाती र पशुपालन गरेर बस्नाले वारिपारि भए । तिनीहरूबीच एउटा शब्द फरक पर्यो, अर्को शब्द फरक पर्यो ।
भाषामै फरक पर्यो । चलनचाँजोमा पनि अलिकति फरक पर्यो । वारिको पूजामा बेल वा बेलपत्र राख्ने गरिएको थियो भने पारि हुँदा त्यो चिज नपाएर अर्थोकै राख्नुपर्यो । वारि धारामा पानी खान्थ्यो भने पारि कुवामा खायो होला । वारि वरपीपलको छायामा बस्थ्यो भने पारिपट्टि अशोक वृक्षको छायामुनि बस्नुपर्यो होला । यस्ता कुरामा फरक पर्दै गयो । गीत र बाजा पनि फरक हुँदै गए । रमाइलो त मान्छेलाई गर्नैपर्थ्यो । गाउने र नाच्ने गर्यो । केही नभए पनि आफन्तको सम्मानमा, मायालु र प्रकृतिको सुन्दरताको वर्णनमा गीत गाउने भयो । महाकाली गएर सुन्नुस् वा मेची गएर, भोजपुर वा सोलु गएर सुन्नुस् वा नेपालगन्ज, थारू भाषामा गाएर सुन्नुस् वा मैथिलीमा, लय र भाषा फरक होला तर सार एउटै छ । आवागमनको कठिनाइले त्यसमा एकरूपता हुन सकेन । झन् समृद्धि र सम्पन्नता थपियो । एउटाले एक थरी ईश्वर भन्यो, कालान्तरमा अर्कोले अर्को थरी ईश्वर भन्यो । यस पटक ‘झुलाघाट–चिवाभन्ज्याङ : समृद्धिका लागि संकल्पयात्रा’ मा पनि हामीले त्यो देख्यौं । कहीं निगालोको झाङ पलाएको छ, त्यहींबाट देवीको नाम राखिएको छ । कोही मन्दिर डाँडाको टुप्पामा छ, त्यसैअनुसार नाम राखिएको छ ।
काठमाडौंको दक्षिणमा भएकाले दक्षिणकाली नाम राखिएको छ । दक्षिणकाली भनेकी छुट्टै देवी होइनन्, दक्षिणमा बस्ने भनिएको हो । चाँगुको डाँडामा भएकाले चाँगुनारायण, शेष गाउँमा भएकाले शेषनारायण, इचङ्गुमा भएकाले इचङ्गुनारायण नाम रह्यो । ठाउँ अनुसार धार्मिक स्थलका नाम छन् । यसरी सांस्कृतिक, भाषिक विविधता छ । पहिरन र खानपिनमा विविधता छ । यो हाम्रो प्रकृतिले सिर्जना गरेको विविधता हो । यो देश निर्माणको सन्दर्भ र बसाइँसराइले सिर्जना गरेको विविधता हो । समयक्रममा अन्तर्घुतन हुँदै बिस्तारै यो विविधतालाई पनि मिक्स–रिमिक्स गर्दै लगिएको छ । यसले नयाँ सिर्जनशीलता बढाएको छ । यस लेखमा मैले आजको कुरा त्यति गरिरहेको छैन । राजनीति, अर्थतन्त्र र राज्यव्यवस्थामा अब केके गर्नुपर्छ भन्ने कुरा त छँदै छन् । हाम्रो गौरवपूर्ण परम्परालाई सुदृढ गरेर जाने हो भने अन्धविश्वासी, धोकापूर्ण, झूट वा अफवाहका मिथ बनाएर जनता अलमल्याउने परम्परा तोड्नुपर्छ । कतिपय ग्रन्थ पैसा दिएर लेखाइएका छन् । पहिलेपहिले हरेक बिहेमा राणाहरूको खाँडो जगाउनुपर्थ्यो । ‘श्री ३ प्रतापी महाराज सर जंगबहादुर राणाजीके वंश में हुँकार, वैरीको टाउकामा खुँडाले ठ्याक’ भनेर केराको थाममा मार हान्ने चलन थियो । नेपाली वीरहरू कलकत्ता, भोटमा लडे पनि जस राणाको टाउकामा दिने चलन थियो । पुस्तकमै ‘स्वस्तिश्री गिरिराज चक्र चूडामणि...’ भनेर प्रशस्ति लेखिन्थ्यो । त्यो भनेको भाडाको कृति हो । फलानोको परिवार भगवान्को अवतार हो भनेर रचना गराइन्थ्यो । त्यति बेला वन्दना गर्ने बन्दी राखिएको हुन्थ्यो ।
त्यो साँचो अर्थमा साहित्य होइन । अहिले पनि हाम्रा किल्ला, गढीहरू छन् । ती हाम्रा लागि स्तुत्य र प्रार्थनीय ठाउँ हुन् । हाम्रा तीर्थ हुन्, मन्दिर हुन् । तिनै गढीले हामीलाई जोगाए र हाम्रो स्वाधीनता बचाए । हाम्रा पुर्खा तिनै गढी खडा गरेर लडेका थिए । हाम्रो बहादुरीपूर्ण इतिहासको जिउँदा प्रमाण हुन्, गढीहरू । त्योभन्दा पवित्र के हुन्छ ? त्यसकारण म जुन घडीमा पुग्छु, गढीलाई प्रणाम गर्छु । यद्यपि त्यसमा चेतना छैन, त्यो खुसी पनि हुँदैन, त्यसले दान दिने होइन, आशीर्वाद पनि केही दिँदैन, तथापि हाम्रा पुर्खा, हाम्रो इतिहासप्रतिको गौरवको कुरा हो । सकारात्मक चिन्तन र कृतज्ञताको अभिव्यक्ति हो । तसर्थ हाम्रा गढीहरू ऐतिहासिक स्थल मात्र होइनन्, पूजनीय स्थलहरू पनि हुन् ।