साँफेबगर।
गौशाला साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटद्वारा आयोजना हुन लागेको श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञ केन्द्रित पत्रकार सम्मेलन सम्पन्न भएको छ। यहि कार्तिक १३ गते देखि १९ गते सम्म कामधेनु गौशालाको संरक्षण एवम संचालनार्थ हुने सप्ताह ज्ञान महायज्ञका विषयमा पत्रकार सम्मेलन सम्पन्न भएको हो। एक हप्ता सम्म संचालन हुने महायज्ञमा व्यासाचार्य हरिशरण उपाध्याय ज्युको मुखार विन्दबाट श्रीमद् भागवत् ज्ञानगंगाको प्रवाह हुने भएको छ।
साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटसंगको समन्वयमा हुने उक्त सप्ताह ज्ञान महायज्ञको कार्तिक १३ गते पूर्वांग र उद्घाटन, १४ गते देखि १८ गते सम्म विहान ७ बजे देखि पूजापाठ, मध्यमन्ह १२ बजे देखि उपरान्ह ४ बजे सम्म कथा वाचन, अपरान्ह ४ बजे देखि आरती हुने कामधेनु गौशालाका संरक्षक डम्बर बहादुर महताले पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भएको छ। यस्तै कार्तिक १९ गते हवन, पूर्णहुति, प्रसाद वितरणसंगै श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञको समापन गरिने भएको छ।
घर पालुवा गाईलाई पछिल्लो समय घर गोठमा गाई पाल्न छोडि छाडा रूपमा छाडिदै आए पछि गाईको संरक्षण गरिदै आएकोमा गाईको पालन पोषणमा समस्या देखिन थाले पछि महायज्ञ आयोजना गर्न लागिएको महताले बताउनु भयो। पछिल्लो समय गाईको महत्व घटदै जानुले गाईलाई छाडा छोड्ने प्रवृत्तिको विकास हुँदै आएकोले गाईको संरक्षण गर्नु परेको मानिसको दायीत्व हुन थालेको उहाँले पत्रकार सम्मेलनमा बताउनु भयो। उक्त माहायज्ञबाट संकलित रकम गौशालामा रहेका गोठ व्यवस्थापन, गाईको स्याहार सुसार साथै कर्मचारीको व्यवस्थापनमा खर्च गरिने छ।
कामधेनु गौशालाको संरक्षण एवम संचालनार्थ हुने सप्ताह ज्ञान महायज्ञमा आफुले सक्ने विभिन्न खाले सहयोग गर्न सकिने बताईएको छ। हाल कामधेनु गौशालामा २० भन्दा बढी गाई रहेका छन्।
पत्रकार सम्मेलनमा साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोट स्थित कामधेनु गौशालाका संरक्षक डम्बर बहादुर महता, साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटका वडा अध्यक्ष ललित बोगटी, आयोजक समितिका गोरख महता पत्रकारको सहभागिता रहेको थियो।