२००७ सालको जनक्रान्तिको सामाजिक राजनीतिक सन्देश अब कुनै पूरक क्रान्ति बाँकी छैन भन्ने हो। यसको अर्थ अब मात्र समतामूलक समृद्घिको क्रान्ति बाँकी छ भन्ने बुझाउँछ।
दास, दस्यु, दरबान हुँदै रैतीबाट प्रजा हुन कति गाह्रो थियो। यो कुरा जनताबाट गणतन्त्र नेपालको नागरिक भइसक्दा पनि नफेरिएको आम नेपाली जनताको जीवनस्तरलाई अलि नजिकबाट नियाल्दा पुगिहाल्छ। एकातिर सात दशकअघिको स्वर्णिम गणतन्त्र सपना आज विपनाकै आँगनमा विराजमान छ। अर्कोतिर २१ओैं शताब्दीको आधारभूत स्वाद लिनबाट वञ्चित बनाइएका जबर्जस्त रैतीहरूको संख्या आज लाखाैको संख्यामा छँदै छ।
के २००७ सालको जनक्रान्ति सहजै सफल भएको थियो त ? आज पर्यन्त अत्यन्त जकडिएको नेपाली समाजको रुढि चरित्र हेरे पुगिहाल्छ नि त्यो अद्भुत जनक्रान्ति साँच्चै अत्यन्त कठिन कालखण्डमा सफल भएको थियो भन्नलाई। मुखै कानुन, आँखै निर्देशन, जन्मजात शासक प्रशासक हुने जहानियाँ एकतन्त्रीय राणा शासनबाट मुुक्त गरेर नागरिक अधिकार बहाली गर्नु चानचुने सवाल हुने कुरै भएन। अझ मनुवादी अन्धता, उच्च जातीय अहंकार र तन्नम गरिबीलाई चिर्दै समता र मर्यादाको उच्च अभ्यास गर्ने कठिन त्यो अठोट आधुनिक नेपालको राजमार्ग कोर्ने ऐतिहासिक युग थियो र दशकोैं पछि पनि हामी त्यसलाई भुल्न सक्दैनोैं, सम्झिरहन्छोैं र भन्छौं प्रजातन्त्र दिवसको शुभकामना! वीर सहिदहरू अमर रहुन्!
२००७ सालको क्रान्तिपछि पनि पटकपटक आन्दोलन, जनआन्दोलन, विद्रोह, जनविद्रोहदेखि सशस्त्र युद्धसम्म भयो। जसको जग त्यही जनक्रान्ति थियो। जसले राजनीतिक सामाजिक क्षेत्रको आजसम्मकै सबैभन्दा ठूलो प्रस्थान बिन्दुको काम गर्यो। प्रजातन्त्र स्थापनासँगै लोकतन्त्र अझ एक कदम अघि बढेर गणतन्त्रसम्मकै त्यो जग जसले कोरेको थियो ‘रिपब्लिकन सोसाइटी’ अर्थात् गणतन्त्र, समावेशिता, मर्यादा, सामाजिक न्याय र समृद्धिको छाना।
बीपी कोइराला, क्रान्ति र सामाजिक न्याय
२००७ सालको जनक्रान्तिका नायक बीपी कोइराला दक्षिण एसियाली समाजका त्यस्ता अग्रणी हुन् जसलाई एउटा पाटोबाट मात्र मूल्यांकन गरेर उनको योगदानलाई न्याय गर्न सकिन्न। अन्ध मनुवादी समाजबाट किनाराकृत एउटा ठूलो तप्कालाई साथ नलिई न क्रान्ति सफल हुन्छ, न त क्रान्तिको मक्सँदै पूरा हुन सक्छ भन्ने दृढ अठोटलाई बीपीले लेखेनन् मात्र अभ्यासमा पनि होमे र आह्वान गरे– ‘सँगै खाऔं, सँगै बसोैं, जातपात मान्दैनौं, भात भताहाको खुसी’। कल्पना गरोैं त जनक्रान्तिको सात दशक पार भइसक्दासमेत नेपाली समाजमा जातपात भेदभाव र जातीय हिंसाको स्वरूप रुकुम नरसंहारसम्मको अभ्यासमा छ भने जंगबहादुर राणाले मनुस्मृतिको जगमा कायम राखेको १९१० को मुलुकी ऐन अभ्यासमा रहेको समाजको चरित्र कस्तो थियो होला। कथित उच्च जात र कथित निम्न जातको चरम विभेदी जात व्यवस्था सम्झँदा पनि आङ्ग जिरिंग हुने। जात कटक, समाज कटक, गाउँ निकाला कानुनले मन चसक्क हुने।
हो त्यही चरम जातीय जञ्जीर तोड्न समाजलाई रूपान्तरण गर्ने बीपी कोइराला आजकलको विकृत राजनीतिमा जेलिएका भोट मात्रै हेर्नेे नोट मात्रै चिन्ने लुटेरा नेताहरूभन्दा अग्रपंक्तिमा दर्ज छन्।
२००७ सालको क्रान्तिपछि पनि विभिन्न आन्दोलन भए। जसको जग त्यही जनक्रान्ति थियो। यसले राजनीतिक र सामाजिक क्षेत्रको आजसम्मकै सबैभन्दा ठूलो प्रस्थान बिन्दुको काम गर्यो।
समाज बुझेका, देश चिनेका, विभेदको जड बुझेका, गरिबीको आँत अनुभूति गरेका, छिमेक झेलेका नेता थिए र त आज पनि उनलाई पूर्वप्रधानमन्त्रीका रूपमा मात्रै हेरिन्न राजनेताको रूपमा सम्मान गर्ने गरिन्छ। भलै नेपाली कांग्रेसले उनको पदचाप पछ्याउन सकेको छैन। प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेर मात्रै उनी इतिहासमा दरिएका होइनन्। आफ्नो क्याबिनेटमा महिलालाई मन्त्री बनाएर दक्षिण एसियाकै प्रथम महिला मन्त्री द्वारिकादेवी ठकुरानीको इतिहास राख्न सफल बनेका छन्। त्यसको जग जनक्रान्तिमा देशका सबै जाति समुदायलाई समेटेर उनले जुन नेतृत्व देखाएका थिए त्यसलाई उनले अभ्यास गरेरै न्याय दिए, राजनेता शैलीमा। आज पर्यन्त समावेशिता सामाजिक न्याय र मानव मर्यादाको आवाज उठिरहेको छ। तुलनात्मक परिवर्तन नमनीय छ, सामूहिक प्रयास, राजकीय अठोट र द्रुत सम्बोधनको आवश्यकता टड्कारो छँदैछ।
जनक्रान्ति, जनआन्दोलन, सशस्त्र द्वन्द्व र गणतन्त्र :
२००७ सालमा नेपाली समाजलाई कोल्टे फेर्न गरिएको त्यो महान् क्रान्तिको जगमा बनेको जननिर्वाचित सरकारलाई २०१७ सालमा अपदस्थ गरी प्रजातन्त्रको हत्या गरी निरंकुश निर्दलीय पञ्चायती व्यवस्था लाद्ने राजा महेन्द्रको कुपछि नेपाली जनताको स्वतन्त्रता, समानता र लोकतान्त्रिक व्यवस्थाको अभ्यास गर्ने चाहना समाप्त भयो। ३० वर्ष निर्दलीय पञ्चायती व्यवस्थाको बन्द समाजमा नेपालीहरू गुज्रन बाध्य बने। २०४६ सालको जनआन्दोलनले प्रजातन्त्र पुनस्र्थापना गरेसँगै समाज एक कदम अघि बढ्दै गयो। राष्ट्र विस्तारै अघि बढ्न थाल्यो। व्यवस्थाकै खिलाफ सशस्त्र द्वन्द्व चल्यो। राजदरबार हत्या काण्डलगत्तै निरंकुशताको नक्कल भयो।
खुला समाजको अभ्यास गरिरहेको, प्रजातान्त्रिक अधिकारको अनुभव गरिरहेको, अग्रमार्गमा हिँडिरहेको समाजलाई रोक्ने कुचेष्टाविरुद्ध नेपालका दलहरूले सशस्त्र द्वन्द्व गरिरहेको शक्तिसँग सहकार्य गरेर छिमेकीको समेत सदाशयतामा नेपाली जनताले वंशवादको अवशेषका रूपमा अभ्यासमा रहेको राजतन्त्रको अन्त्य गरे। जुन अन्त्य जनविद्रोह, सदन, सडक र सहादतको बलमा भयो।
गणतन्त्र : समानताको अनुपम अभ्यास
लोकतान्त्रिक गणतन्त्र विश्वको त्यस्तो समतामूलक व्यवस्था हो जहाँ भ्रूणमा रहेकी एक किशोरीलाई आफ्नो मुलुकको राष्ट्राध्यक्ष बन्ने राजकीय भविष्यको बाटो खुलिसकेको हुन्छ। कार्यकारी राजतन्त्रसहितको नेपालको संविधान २०१९ ले जनता प्रधानमन्त्री बनेपछि उसको मर्यादा ३९ओैं स्थानमा राखेको थियो। २०४७ सालको संविधानले १०ओैं स्थानमा भने गणतान्त्रिक व्यवस्थासहितको २०७२ सालको संविधानले राष्ट्रपतिलाई प्रथम स्थानमा राखेसँगै जन्म, वंश, वर्णको आधारमा राष्ट्रप्रमुख हुने युगको अन्त्य भयो। फलस्वरूप जनकपुर सपहीका वरण बोैवा डाक्टर रामवरण यादव नेपालको राष्ट्र प्रमुख बने। भोजपुरकी विद्यादेवी भण्डारी बहालवाला राष्ट्राध्यक्षको रूपमा राजकाज शासन प्रशासन हाँकिरहेकी छन्।
सप्तरीका मुस्लिम, सुनसरीका परियार, कालीकोटका ठकुरी, ताप्लेजुङका लिम्बू, दाङका थारू, कैलालीका भट्ट, काभ्रेका तामाङ, रुकुमका विश्वकर्मालाई राष्ट्रपति हुन बाटो खुलेको छ। जात, वंश र लिंगकै कारण अब रोकिने छैन। बरु राष्ट्राध्यक्ष बन्न एउटै वंश त्यसमा पनि पुरुषै हुनुपर्ने युगको अन्त्य भएको छ। लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा मात्रै सर्वसाधारणको कोखबाट राष्ट्रप्रमुख हुन पाउने, प्रथम नागरिक बन्न पाउने अवसर छ जसलाई समता र सामाजिक न्यायका हिसाबले संसारमै उत्कृष्ट अभ्यास मानिन्छ।
लोकतान्त्रिक गणतन्त्रको जगमा नागरिकको अधिकार, स्वतन्त्रता र मुलुकको समतालिममूलक समृद्धिको महायज्ञ सम्पन्न गर्न सकिन्छ भन्नेमा अब वादविवाद, मतमतान्तर गरिरहनु पर्दैन। २००७ सालको जनक्रान्तिको सामाजिक राजनीतिक सन्देश पनि यही हो कि अब कुनै पूरक क्रान्ति बाँकी छैन छ त मात्र समतामूलक समृद्धिको क्रान्ति। यो युग चेतलाई, चोैथो पुस्ताको सपनालाई आत्मसात् गर्दै अघि बढ्न नसक्ने नेतृत्वमाथि धावा बोलिरहनु, खबरदारी गरिरहनु, सहादत सम्झाइरहनु निर्वाचनमा जनमत बदलेर देखाइदिने दायित्व फेरि पनि नेपाली नागरिककै काँधमा छ, समतामूलक समृद्धि सम्भव छ, किन हट्ने ?
(अन्नपूर्ण अनलाइनबाट साभार)