साँफेबगर ।
वाक नेपालद्धारा गठित आत्मर्निभर समुहको सिकाई आदान प्रदान कार्यक्रम साँफेबगर नगरपालिका १० घुघुरकोटमा सम्पन्न भएको छ।
वाक नेपालद्धारा संचालित सामाजिक रूपान्तरणका लागि महिला सशक्तिकरण परियोजना अन्तरगत गठित प्रगतिशिल आत्मर्निभर समुहका सदस्य यशोदा भाटको अध्यक्षतामा भएको सिकाई आदान-प्रदान कार्यक्रममा प्रमुख अतिथि कार्वाहक नगर प्रमुख शिव बहादुर कुँवर शिलोज रहनु भएको थियो।
कार्यक्रममा बोल्दै कार्वाहक नगर प्रमुख कुँवरले समाजका सबै बर्ग समुदायको समतामुलक सहभागिता नभए सम्म समाज परिवर्तन हुन नसक्ने बताउनु भयो। नगरको विकास र समाज परिवर्तनको लागि भौतिक विकास संगै सामाजिक विकासको पनि आवश्यक्ता रहेको बताउनु भयो।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष ललित बहादुर बोगटीले आत्मर्निभर समुहका सदस्यले सामुहिक रुपमा व्यावसाय गर्ने चाहेमा वडा कार्यालय सहयोग गर्ने बताउनु भयो। उहाँले सिक्ने सिकाउने भन्दा पनि परिवर्तनकारी योजना बनाई अघि बढ्नु पर्नेमा जोड दिनु भयो।
प्रगतिशिल आत्मानिर्भर समुहका सदस्य यशोदा भाटले आर्थिक अवस्था कमजोर भएका महिलाको अवस्था सुधारका लागि वडाबाट सहयोग हुनु पर्नेमा जोड दिनु भएको छ। प्रगतिशिल आत्मर्निभर समुहका सदस्य पार्वती भाटले महिला सशक्तिकरण परियोजनाले महिलालाई आत्मनिर्भर कसरी बन्ने कुरा सिकाएको बताउनु भयो।
उहाँले अहिले महिला आत्मनिर्भरतासंगै आफ्ना कुराहरु खुलेर राख्न सक्षम भएको धारणा व्यक्त गर्नु भयो। सिकाई आदान प्रदान कार्यक्रममा वडा सदस्य भुपेन्द्र महता, उर्मिला खड्का, परियोजनाका सहजकर्ता अप्सरा बुढा महता, वडामा गठित ८ वटा समुह श्रीखण्ड, प्रगतिशिल, त्रिपुरा, खापर माण्डौ, उर्जाशिल, कालिका, लालिगुराँस, नवदुर्गा आत्मनिर्भर समुहका सदस्यहरुको सहभागिता रहेको थियो।
वाक नेपालका निवर्तमान अध्यक्ष मिन बहादुर कुँवरले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन महिला सशक्तिकरण परियोजनाका कार्यक्रम अधिकृत सत्य स्वारले गर्नु भएको थियो।