साँफेबगर ।
बुढीगंगा बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधारण सभा सम्पन्न भएको छ। अछामको प्रमुख व्यपारिक केन्द्र साँफेबगर स्थित बुढीगंगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं बार्षिक साधारण सभा सम्पन्न भएको हो।
साधारण सभामा संस्थाका संचालक समिति सदस्य अप्सरा कुँवरले प्रस्तुत गरेको प्रगति प्रतिवेदन अनुसार सहकारीमा १ सय ४ जना शेयर सदस्यहरु रहेका छन्। बुढीगंगा बचत तथा ऋण सहकारी संस्थामा हाल सम्म करीब ३५ लाख ३ हजार ५ सय शेयर पुजी र ३८ लाख ४६ हजार ६ सय ५९ बचत रहेको र लगभग २० लाख कोषको रुपमा पुजी संकलन भएको देखिएको छ।
सुरुमा २५ हजारमा खरिद गरेको शेयरको अधिकतम मुल्य ४५ हजार पुगेको छ भने ८९ लाख १३ हजार ६ सय ५० रुपैयाँ सदस्यहरुलाई कर्जा लगानी गरिएको छ। साधारण सभामा असल बचतकर्ता रुप बहादुर बोहरा, अप्सरा कुँवर, सबै भन्दा बढी रकम बचत गर्ने बचतकर्ता प्रेम विक, सबै भन्दा बढी शेयर खरिद गर्ने संस्थाका अध्यक्ष दीर्घ ठकुल्ला, सहकारीमा असल कारोबार गर्दै आउनु भएका शेयरकर्ता रुद्र बहादुर कुँवरलाई सम्मान–पत्र सहित सम्मान गरिएको थियो।
सहकारीका अध्यक्ष दीर्घ ठकुल्लाको अध्यक्षतामा भएको साधारण सभामा पूर्व राज्य मन्त्री एवम नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द बहादुर शाह प्रमुख अतिथि रहनु भएको थियो।
साधारण सभाका विशिष्ठ अतिथि साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर, उप प्रमुख शिव बहादुर कुँवर शिलोज, नगरपालिकाका प्रवक्ता मक्कर बहादुर कुँव वडा नम्बर ४ का वडा अध्यक्ष नवराज बुढा, वडा नम्बर ७ का वडा अध्यक्ष हिक्मत कडायत, इलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख दिपक मगराठी, समाजसेवी बालगिरी कुँवर, ढकेन्द्र कुँवर, मान बहादुर कुँवर लगाएतका अतिथिहरुले मन्तव्य राख्नु भएको थियो।
साधारण सभामा साँफेबगर स्थित बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार संस्थाका शेयर सदस्य लगाएतको सहभागिता रहेको थियो।
बुढीगंगा बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष राजेन्द्र सुनारले स्वागत मन्तव्य राख्नु भएको साधारण सभाको संचालन संस्थाका सचिव बल बहादुर केसीले गर्नु भएको थियो।